काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालले आफू राजावादी नभएको र राजावादीहरुले गरेको आन्दोलनमा आफू कहिं कतै पनि संलग्न नभएको बताएका छन् ।
शुक्रबारको अराजकतापूर्ण राजावादी प्रदर्शनलाई बल पुर्याउनका लागि ‘नागरिक अगुवा’ का नाममा जारी भएको अपिलमा आफ्नो नाम अनुमतिबिना समावेश गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
एउटा विषयमा छलफल गर्न र धारणा राख्न भनी बोलाएर अर्कै विषय झल्किने गरी अपिल जारी गर्ने काम भएको उनले बताए ।
पूर्व आईजीपी खनालले एक अनलाइनसँग भनेका छन्–‘शुक्रबारको कार्यक्रमका विषयमा कुनै पनि शव्द उच्चारण भएको थिएन । तर, त्यही कार्यक्रमलाई लक्षित गरेर अपिल सार्वजनिक गरेजस्तो देखिँदा दुःख लागेको छ । जे हुनुहुँदैन भनेर हामीले त्यहाँ भन्यौं, अघिपछि पनि भन्ने गरेका छौं, शुक्रबार त्यही भयो । प्रदर्शनकारीका तर्फबाट देखिएको अराजकताको त्यो हद त कल्पना पनि गरेका थिएनौं ।’
यस्तो छ पूर्व आईजीपी खनालको भनाई
मैले कुनै पनि कागजमा हस्ताक्षर गरेको छैन । कलाकार साथीहरु दीपकराज गिरी, मनिषा कोइरालासहित हामी गएका थियौं । पछि स्वागत नेपालहरु आए ।
राजावादी अभियान वा त्यस्तो कुनै राजनीतिक विषय भनेर बोलाइएको थिएन । देशको राजनीतिक अवस्था खराब भयो । यसमा प्रवुद्ध व्यक्तिहरु के चाहन्छन् भनेजस्तो टपिक (शीर्षक) मा कुरा उठाइएको थियो ।
राप्रपा वा राजा पक्षका नेता, अभियन्ता भन्नेहरु कोही थिएनन् । हामीजस्तै विभिन्न क्षेत्रका मान्छेहरु देखियो । तर, स्वागत नेपालजी त्यहाँका कुरालाई बाहिर लैजानुपर्छ भन्नेमा अलिक सक्रियजस्तो लागेको थियो । उहाँ पनि त्यति चर्को राजावादी हो भन्ने लागेको थिएन ।
देशमा नयाँ पार्टी पनि आए । तिनले जनताको अभिमतको कदर गर्न सकेनन् । त्यसले गर्दा जनतामा झन् निराशा बढ्यो । विश्वासिलो र भरपर्दो तेस्रो विकल्प देशलाई चाहिएको छ । यत्तिको बौद्धिक जमात छ भने त्यता तर्फ अग्रसर हुनुपर्यो भनेर कुरा राखेको हुँ । कोही आऊ, देश बचाऊ– यस्तो केही भनेको होइन ।
त्यस्ताखाले भेला, छलफलमा जाँदै नजाने, आफ्नो कुरै नराख्ने भन्ने कुरा पनि हुँदैन । गएको हो, कुरा राखेको हो । तर, अपिल जारी गर्ने, त्यसमा हस्ताक्षर गर्नेजस्ता काम म र अरु कोहीबाट भएको होइन । हस्ताक्षर गरेर जानुपर्यो भन्ने कुरा आएको थियो । हामी आफ्नो कुरा भन्न गएको मान्छेलाई अपिल निकाल्ने, सही गर्ने भन्ने कुरासँग मतलब भएन । हामी आफ्नो बाटो लाग्यौं । पछि संयुक्त विज्ञप्तिजस्तो बनाएर हाम्रो पनि नाम आयो ।
हामीले अराजकताको विरोध त्यो भेलामै भनेका थियौं । राजाको त ‘र’ पनि उच्चारण भएको थिएन । बरु, विकल्पमा केही गर्नुपर्छ कि भनेर कुरा उठेका थिए । कोही आऊ र केही गर हैन, हामी नै आउने हो, हामीले नै गर्न सक्छौं भन्ने मेरो भनाइ थियो ।
संविधानका अपरिवर्तनीय मान्यता विपरित त्यसै राजा ल्याउने कुरामा उफ्रिएर हुँदैन । म यसमा स्पष्ट छु । देशमा तेस्रोखाले राजनीतिक विकल्प चाहिएको भन्नेमात्रै कुरा गरेको थिएँ । राजावादीजस्तो देखाएर विज्ञप्ति नै आउँदा ठीक लागिरहेको थिएन ।
Leave a Reply