काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने दाबी गरेका छन् ।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि शुक्रबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले यस्तो दाबी गरेका हुन् ।
उनले भने, 'विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।'
वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता जस्ता विषयले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको छ ।