काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपालमा समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन्।
‘न्यायिक समितिः दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै मेयर बालेनले उक्त कुरा बताएका हुन् । उनले अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरुपण गर्ने गरेको दाबी गरे।
काठमाडौं महानगरको न्यायिक समितिबाट अदालतहरू समेत छिटो न्याय निरूपण गर्न प्रेरित हुने विश्वास मेयर बालेनको छ।
न्यायिक समिति संयोजकसमेत रहेकी महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण गरिएको बताइन्।
कुल ६०८ वटा विवाद निरुपण हुँदा ३२६ वटा विवादमा निर्णय भएको र बाँकी १४१ विवाद मेलमिलापको माध्यमबाट समाधान भएको उनको भनाइ छ।
१३२ निर्णय उपर पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिदा १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहबाट सदर भएको पनि जानकारी दिइन्।
महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको उनले बताइन्।