काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।
आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे ।
तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग आग्रह गरे ।