Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

स्काउटका प्रमुख आयुक्त रञ्जित सिंहदरबारबाटै सम्पर्कविहीन, मन्त्री खड्काको ३ करोड भाडा छुट दिन चलखेल

स्काउटका प्रमुख आयुक्त रञ्जित सिंहदरबारबाटै सम्पर्कविहीन, मन्त्री खड्काको ३ करोड भाडा छुट दिन चलखेल

सोमवार , पौष २९, २०८१

काठमाडौं । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितको असक्षम नेतृत्वका कारण भाँडभैलो मच्चिएको छ ।

प्रमुख आयुक्त रञ्जितले स्काउट ऐन र नियमावलीमा हुँदै नभएको अधिकार प्रयोग गर्दै कार्यकारी निर्देशक रामप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने र निलम्बन गरेका कारण स्काउटमा भाँडभैलो मच्चिएको हो ।

उनले गैरकानुनी रूपमा अजित लामा नाम गरेका एक व्यक्तिलाई कर्मचारीको रूपमा नियुक्ति गरी उनैलाई निमित्त निर्देशकको जिम्मेवारी दिएपछि स्काउटमा तनाव उत्पन्न भएको हो ।

भट्टराईको निलम्बन र लामाको नियुक्ति गरिएको पत्र स्काउट कार्यालयमा दर्ता नहुनुका साथै अभिलेखमा समेत कतै देखिँदैन । भट्टराईले त आफूले निलम्बनको पत्र नपाएको बताउँदै आएका छन् ।

पुस २६ गते शुक्रबार साढे ११ बजे नियमित रूपमा कामकाज गरिरहेका बेला भट्टराईको कार्यकक्षमा लामालाई प्रमुख आयुक्त रञ्जितले लगेर कार्यालय प्रमुखको कुर्सीमा जबरजस्ती बसालेका थिए । भट्टराईलाई उठाएर उहाँ नै आज कार्यालय प्रमुख हो भन्दै रञ्जितले बसालेपछि स्काउटमा तनावको वातावरण सृजना भएको थियो ।

कुनै वैधानिक प्रक्रियाबाट नियुक्ति नगरी प्रमुख आयुक्त रञ्जितको एकल निर्णयका आधारमा लामालाई नियुक्ति गरिएको र भट्टराईलाई ३ महिनाका लागि निलम्बन गरिएको बताइएको छ ।

स्काउटको प्रचलित ऐन र नियमावलीमा कार्यालय प्रमुखलाई स्पष्टीकरण लगायतका कारबाहीसम्बन्धी प्रक्रिया अगाडि बढाउनु पर्दा राष्ट्रिय कार्यकारी समितिको बैठकले निर्णय गर्नुपर्ने अनिवार्य प्रावधान छ ।

त्यसै गरी कर्मचारी नियुक्तिका सम्बन्धमा प्रमुख आयुक्तलाई कुनै अधिकार नै छैन । कर्मचारी नियमावलीले गठन गरेको पदपूर्ति समितिमार्फत् कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधानलाई ठाडै उल्लङ्घन गर्दै खारेज भइसकेको कर्मचारी नियमावलीको व्यवस्थामा टेकेर लामालाई नियुक्ति गरिएको रञ्जितले बताउँदै आएका छन् ।

स्काउटका एक कर्मचारीका अनुसार पुस २६ गते स्काउटको प्रधान कार्यालय लैनचौर परिसरमा जुन घटना प्रमुख आयुक्तबाट घटाएर माघ १९, २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको जस्तै झल्को दिएका छन् ।

स्काउट प्रेमीहरुले उक्त दिनलाई कालो दिनका रूपमा लिएका छन् । एकाएक गैरकानुनी रूपमा कुनै व्यक्तिलाई टपक्क टिपेर कार्यालय प्रमुखको कुर्सीमा बसालेर गएका प्रमुख आयुक्त रञ्जित सोमबार ४ बजे सिंहदरबारबाटै बेपत्ता भएका छन् ।

राष्ट्रिय कार्यकारी समितिका सदस्य, स्काउट सदस्यहरु युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई शुक्रबारदेखि बेपत्ता भएका प्रमुख आयुक्त रञ्जितको खोजी गरिदिन र वर्तमान समस्याको निकासका लागि छलफल गर्न पुगेका थिए ।

सोही समयमा रञ्जित भने उर्जामन्त्री दीपक खड्काका कानुनी सल्लाहकार सेवक पोखरेललाई सरकारी गाडीमा सँगै लिएर खेलकुद मन्त्रालयमै स्काउटका सदस्यहरूको जम्काभेट भएको थियो । स्काउटको टोलीसँग जम्काभेट भएपछि रञ्जित तत्कालै फरार भएका थिए । आधा घण्टासम्म कुर्दा पनि रञ्जित आएनन् ।

उनले बाहिरै बसेर सिंहदरबारभित्रको गाडी मगाएर गएको बताइन्छ । गएको शुक्रबारदेखि कार्यालय र खेलकुद मन्त्रालयको सम्पर्कमा नरहेका रञ्जित भने ऊर्जा मन्त्रीको सचिवालय, स्काउटको तदर्थ समितिका पूर्व संयोजक लोकबहादुर भण्डारीको कालोपुलस्थित जेभियर कलेजमा भेटिने गरेको बताइन्छ ।

अधिकांश समय रञ्जित जेभियर कलेजमै बसेर स्काउटको लेटरप्याड र छापको दुरुपयोग गर्दै गैरकानुनी पत्रहरु बनाउने, गुप्त योजना बनाउने र कार्यालयका कर्मचारीलाई त्यहीँ बोलाउने गरेका छन् । रञ्जितले गैरकानुनी रूपमा नियुक्त गरेका लामाले दिनहुँ दलबलसहित स्काउटको कार्यालयमा जाने, कार्यकक्ष जबरजस्ती कब्जा गरेपछि शुक्रबारदेखि नै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा घेरामा रहेको स्काउटको केन्द्रीय कार्यालयमा काम ठप्प छ । उता, ऊर्जामन्त्री खड्का र तदर्थ समितिका पूर्व संयोजक भण्डारीबीच खड्काल्याण्डले तिर्नुपर्ने स्काउटलाई तिर्नुपर्ने ३ करोड भाडाबापतको रकम छुट दिने सहमति भएको स्रोत बताउँछ ।

उक्त सहमति भएकै कारण प्रमुख आयुक्त रञ्जित अहिले दीपक खड्काले तिर्नुपर्ने रकम छुट गराउनका लागि पत्र तयार गर्ने काममा तल्लीन भएर लागेका छन् ।

प्रमुख आयुक्तमा रञ्जितलाई टिकाउने सर्तमा उक्त भाडाबापतको रकम छुट दिने कुरामा भण्डारी पनि सहमत भइसकेको बताइन्छ । भाडाबापतको उक्त रकम छुट पाउनका लागि मन्त्री खड्का विगत १ वर्षदेखि लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077