काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको निर्माण पद्धतिहरूमा नेपालीपन ओझेल पर्दै गएको बताएका छन्।
नेपाली वास्तुविद् समाजको आयोजनामा काठमाडौंमा सुरु आर्कबिल्ड एक्सपो उद्घाटन गर्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्।
उनले शहर र समुदायको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतिपूर्ण रहेको बताए।
जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएको उनले बताए।
अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको अवस्थामा आधुनिक विकास निर्माणलाई नेपालीपनसहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेको सहरी विकासमन्त्री सिंहको भनाई छ।
उनले नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त नरहेको उल्लेख गरे।