Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अर्बौं अपचलनमा मुछिएका भट्टचनलाई जोगाउन किन लागिपर्दैछन् शेरचन ?

    अर्बौं अपचलनमा मुछिएका भट्टचनलाई जोगाउन किन लागिपर्दैछन् शेरचन ?

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । प्रभु बैंकका पूर्वअध्यक्ष तथा नेकपा एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचन १ अर्ब ९ करोड १९ लाख रकम अपचलनमा मुछिएका छन् । भट्टचनविरुद्ध नेपाल राष्ट्र बैंकदेखि सिआईबी हुँदै प्रहरीका विभिन्न निकायमा उजुरी परेपनि शक्तिको आडमा उनी छानविनबाट बच्दै आएको खुलेको छ ।

    प्रभु मेनेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष तथा प्रभु मनी ट्रान्सफरका लगानीकर्ता एवं अध्यक्ष समेत रहेका भट्टचनले देशभरका विभिन्न सहकारीबाट रेमिट्यान्सले भुक्तानी दिएको १ अर्ब बढि रकम हिनामिना गरेको भन्दै प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै उजुरी दिएपछि भट्टचनको आर्थिक अपचलन बाहिर आएको हो ।



    भट्टचन (भट्टचन ग्रुप) बाट अधिकतम शेयर लिई संचालन गरिएको प्रभु मेनेजमेन्ट प्रालिले झन्डै सात हजार सहकारीहरुलाई यसका एजेन्ट बनाई प्रभु मनी ट्रान्सफर मार्फत भित्रिएका रकमहरु यिनै सहकारी मार्फत भुक्तानी गराउदै आइरहेको थियो ।



    विदेशवाट आएको रकम विभिन्न सहकारीहरुबाट भुक्तानी गर्नको लागि प्रभु मेनेजमेन्ट प्रालिमा उक्त सहकारीहरुबाट केही रकम धरौटीवापत समेत राख्ने गरेकाले कम्पनीको खातामा ठूलो रकम जम्मा हुन पुगेपछि सोही रकमले प्रभु बैंक र प्रभु इन्स्योरेन्सको स्थापना भएको थियो ।

    प्रभु बैंकको स्थापनापछि भट्टचनको हालीमुहाली चल्यो । उनी आफै प्रभु बैंकको अध्यक्ष समेत बने । भट्टचनकै नाम र व्यक्तिगत ग्यारेन्टीमा उनको स्वार्थका लागि प्रभु बैंकले ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुमा विनाधितो थप कर्जा लगानी गर्न थालेपछि समस्या निम्तिएको हो ।

    प्रभु टेक्नोलोजी, प्रभु टिभी, प्रभु हेलिकोप्टर, नेपाल सिपिङ, लाजिम्पाट अपार्टमेन्ट र जानकी मेडिकल जस्ता थुप्रै कम्पनीहरु ग्रुप अन्तर्गत सञ्चालनमा ल्याएर भट्टचनले नै समस्याग्रस्त बनाएका छन् ।

    प्रभु बैंकका अध्यक्षसमेत बनिसकेका भट्टचनबाटै प्रवर्द्धित कम्पनी प्रभु टेक्नोलोजी (प्रभु पे)ले नेपाल राष्ट्र वैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लिएको थियो । त्यतिबेला प्रभु बैंक र प्रभु टेक्नोलोजीका अध्यक्ष उनै भट्टचन थिए । प्रभु टेक्नोलोजी घाटामा सञ्चालन भैरहेको कारण देखाई उनले आफ्नो नाम हटाएर आफ्नो नाममा रहेको ६० प्रतिशत शेयर प्रभु मेनेजमेन्ट लाई खरिद गर्न लगाए । उनी यसबाट उम्किनु पछाडिको रहस्य भने राष्ट्र बैंकको कारबाहीबाट बच्न प्रभु टेक्नोलोजी प्रभु बैंकलाई किनाउनु थियो ।

    भट्टचनले प्रभु टेक्नोलोजीबाट आफ्नो नाम र शेयरसमेत हटाए । राष्ट्र बैंकको कारबाहीबाट बच्न भट्टचनले प्रभु बैंकका सिइओ अशोक शेरचनसँग सेटिङ मिलाई प्रभु बैंक र प्रभु टेक्नोलोजीको अध्यक्षबाट बाहिरिएको समेत खुलेको छ ।

    प्रभु बैंकका सिइओ शेरचन नाताले भट्टचनका ज्वाइ पर्छन् । जसका कारण भट्टचनले प्रभु टेक्नोलोजीको एनबीएसएम एशोसिएट्स भन्ने अडिट फर्मबाट डीडीए गराए । भट्टचनले राष्ट्र बैंकको कारबाहीबाट बच्न आफ्नै भतिजा मिजास भट्टचन हुँदै छोरी शिक्षा भट्टचन र प्रभु मनी ट्रान्सफरका कर्मचारी ध्रुवचन्द्र धितालका नाममा प्रभु मेनेजमेन्ट को शेयर हस्तान्तरण गराएको रहस्य समेत खुलेको छ ।

    त्यस्तै प्रभु मेनेजमेन्ट बाट भट्टचन ग्रुपको सेयरहरू सोही कम्पनीमा कार्यरत कर्मचारी हेम महाजु, श्रुती तामाङ, गणेश घिमिरे र कुसुम लामालगायतमा सारिएको पनि खुलेको छ । उक्त शेयर खरिद गराउन भट्टचनको निर्देशनमा सहायक प्रवन्ध निर्देशक रामेश्वर सापकोटाले प्रभु मनी ट्रान्सफरबाट ६ करोड रकम प्रभु मेनेजमेन्ट को नाममा पेश्की हाल्न लगाएका थिए ।

    आफू उम्किनका लागि देविप्रकाश भट्टचनले २०७७ असार २४ मा शिक्षा भट्टचन र धुवचन्द्र धितालको नाममा रहेको प्रभु टेक्नोलोजीको शेयर कर्मचारीहरुको नाममा नामसारी गराएको खुलेको छ ।

    जव शिक्षा भट्टचन र धुवचन्द्र धितालको शेयर विक्री प्रक्रिया सकियो, त्यसपछि प्रभु बैंकले समेत डीडीए प्रक्रिया पुरा गराएन ।

    नेपाल राष्ट्र वैंकको कुनै पनि ऐन, नियम तथा विनियम र निर्देशिकामा सुपर एजेन्ट बनाउने र सो सुपर एजेन्टमार्फत धरौटी संकलन गरी कारोवार गर्न पाइने व्यवस्था उल्लेख छैन ।

    तर, प्रभु मनि ट्रान्सफरका अध्यक्ष भट्टचनले प्रभु मेनेजमेन्ट कम्पनी खडा गरी हजारौं सहकारीबाट धरौटी रकम उठाएका छन् । भट्टचनले विभिन्न बैंक, इन्स्योरेन्स, नेपाल सिपिङ, प्रभु हेलिकोप्टर, प्रभु टिभी, जानकी मेडिकल कलेज र लाजिम्पाट अपार्टमेन्ट जस्ता कम्पनीहरुमा खडा गरी नेपालको ठूला घराना ‘प्रभु ग्रुप’ स्थापना गराएर अनियमित रुपमा प्रभु बैंकमार्फत कर्जा प्रवाह समेत गराएका छन् ।

    तर, भट्टचनले अन्तिममा प्रभु मेनेजमेन्ट कम्पनीको शेयर निमुखा कर्मचारीहरुको नाममा खरिद गराई करोडौको ऋणभार बोकाएर कर्मचारीहरुलाई नै अन्यायमा पारेको खुलेको छ । सहकारीहरुबाट लिएको धरौटीवापतको रकम समेत नतिरी भट्टचन उल्टै कर्मचारीहरुविरुद्ध प्रशासन लगाएर दुःख दिन लागि परेको एक कर्मचारीले बताए ।

    व्यक्तिगत फाइदाका लागि बिभिन्न कम्पनीहरूको स्थापना गर्दै कम्पनीहरूलाई ऋण बोकाएर घाटामा पुर्याउने बानी परेका भट्टचनले प्रभु म्यानेजम्यान्ट कम्पनीबाट प्रभु टेक्नोलोजी प्रालि, महाकाली डिजिटल नेटवर्क प्रालि (प्रभु टिभि), लाजिम्पाट अपार्टमेन्ट, रामजानकी हेल्थफाउन्डेसन (जानकी मेडिकल कलेज) जस्ता कम्पनीहरूमा लगानी तथा थप पेश्कीसमेत दिन लगाई आफू र आफ्नो परिवारको नाम भने हटाइसकेका छन् ।

    भट्टचनविरुद्ध परेको उजुरीलाई सरकारी वकिल कार्यालय काठमाडौंले कारबाही प्रकृया अगाडि बढाउन भन्दै असोज ११ गते नै जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । उक्त जाहेरीमाथि प्रहरीले अहिलेसम्म कारबाही प्रकृया अगाडि बढाएको छैन भने नियमन निकाय राष्ट्र बैंक पनि अझैसम्म मौन छ ।

    प्रभु मेनेजमेन्ट प्रालिले गत साउन २३ गते नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई प्रभु मनि ट्रान्सफरमाथि आवश्यक कारबाही गरिपाउँ भन्दै गभर्नरको कार्यालयलाई बोधार्थ दिएर उजुरी दिएको थियो ।

    स्रोतका अनुसार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै प्रभु बैंकका सिइओ अशोक शेरचनका सेटिङमा चल्दै आएका कारण शेरचनले नै अधिकारीसँग भट्टचनको सम्बन्ध विस्तार गराई कारबाहीबाट जोगाउँदै आएका छन् ।

    प्रभु बैंकमा अहिले पनि भट्टचनकै हालिमुहाली छ । बैंकका सिइओ अशोक शेरचन र भट्टचन एउटै व्यवसायिक समूहका हुन् । उनीहरु मिलेर बैंकबाट नियम मिचेर विभिन्न कम्पनीमा अरबौं कर्जा प्रवाह गर्दै आएका छन् । जुन कर्जा अहिले उठ्ने अवस्थामा छैन । भट्टचन कारबाहीमा परेको खण्डमा शेरचन पनि तानिने भएका कारण भट्टचनलाई जोगाउन शेरचनले अनुसन्धान रोक्न दौडधुपमा लागेको स्रोत बताउँछ ।

    ग्रुप अन्तर्गतका कतिपय कम्पनीमा शेरचनका नातेदारहरु पनि संलग्न रहेका छन् । ती कम्पनीहरुको अनियमित कर्जा लगानीको बारेमा राष्ट्र बैंकले अनुसन्धान गरेको खण्डनमा शेरचनका नातेदारहरु पनि अपचलनमा पर्ने हुँदा शेरचनले माथिल्लो तहसम्म चलखेल गरिरहेका छन् ।

    राष्ट्र बैंकको सुपरिवेक्षणले कतिपय कम्पनीको क्रेडिट रेटिङ नै नगरि कर्जा प्रवाह गरिएको, कम्पनीको फाइनान्सियल एनलाईसीस नगरी ठूलो रकम प्राइभेट कम्पनीमा दिइएको, जुन प्रयोजनका लागि कर्जा दिएको हो, सोमा प्रयोग नगरी व्यक्तिगत रुपमा रकम प्रयोग भएको भन्दै कारबाही गर्न प्रतिवेदन तयार पारेपनि गभर्नर अधिकारीकै स्वार्थका कारण प्रभु बैंकमाथि कारबाही हुन नसकेको राष्ट्र बैंककै एक उच्च अधिकारी दावी गर्छन् ।

    अरबौं आर्थिक अपचलनमा मुछिएका भट्टचनलाई समाचारको प्रतिकृयाका लागि अनलाइन नेपालले सम्पर्क गर्दा उनको मोवाइलमा घण्टी गएपछि कल डाइभर्ट भएको सूचना आएकाले सम्पर्क हुन सकेन ।

    प्रभु बैंकका सिइओ अशोक शेरचनसँग पनि प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार