Online Nepal
  • बुधबार, २८ कार्तिक २०८१
  • जीबीले १२ करोडमा बेचे २३ रोपनी जग्गा, ३ रोपनी धितो राख्दा १६ करोड ऋण ?

    जीबीले १२ करोडमा बेचे २३ रोपनी जग्गा, ३ रोपनी धितो राख्दा १६ करोड ऋण ?

    अनलाइन नेपाल
  • आइतबार, २५ कार्तिक २०८१
  • 2K
    SHARES

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सूर्य थापा नेतृत्वको संसदीय छानबिन बिशेष समितिले गत भदौ ३१ गते पेश गरेको प्रतिवेदनमा गीतेन्द्रबाबु(जीबी) राईले सहकारीको रकमबाट खरिद गरेका कतिपय जग्गाहरुको विवरण नै समावेश नगरेको पाइएको छ ।

    राईले सहकारीको रकम अपचलन गरी खरिद गरेका अरबौं मूल्यको जग्गा विक्री समेत गरेको खुलिसकेको छ । विभिन्न कारणवस समितिले खोजी गर्न नसकेका कतिपय अरबौं मूल्यका जग्गाहरु अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले खोज्न थालेको हो ।



    पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा डेढ वर्ष अघि नै निक्षेप फिर्ता नगरेको भन्दै उजुरी दर्ता गराए लगत्तै राईले राजश्व छली गरी विवादास्पद व्यक्तिहरुलाई भैसेपाटीको २३ रोपनी ७ आना जग्गा विक्री गरेको खुलेको छ ।



    बचतकर्ताले सहकारीमा जम्मा गरेको पैसाले जीबी राईको समूहले किनेको उक्त जग्गा २०७९ भदौ १ गते बाजेको सेकुवाका सञ्चालक एवं ३३ किलो सुन काण्डमा कारबाही भोगेका चेतन भण्डारी र विवादास्पद नागरिक पवनकुमार साहको संयुक्त लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० लाख बिक्री गरिएको खुलेको छ ।

    जुनबेला पोखरामा सहकारी पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जीवी राईबिरुद्ध उजुरी दिइसकेका थिए । त्यतिखेर कास्की प्रहरी प्रमुख थिए एसपी अजय केसी । केसीले मात्र उक्त केस अगाडि बढाएको भए सहकारी पीडितहरुले केही हदसम्म राहत पाउने थिए ।

    तर, केसीले रवि लामिछानेसँगको साँठगाँठका कारण उक्त केस अगाडि बढाएनन् । जसले गर्दा जीबीले विक्री गरेको उक्त जग्गा हतारमा भण्डारी र पवन साहले बढी भ्यालुएसन गराई हिमालयन बैंक न्यूरोड शाखाबाट करोडौं ऋण लिन भ्याए ।

    अहिले सिआईबीले उक्त जग्गाबारे सोधीखोजी गर्न थालेपछि एसपी केसीको कमजोरी समेत बाहिर आएको स्रोत बताउँछ । सीआईबीका एक अधिकारीले जीबी राईले बेचेको उक्त जग्गाको विक्री र ऋण प्रवाहका विषयमा प्रारम्भिक रुपमा अनुसन्धान थालिएको बताए ।

    अचम्म त के छ भने चेनी क्यापिटलले १२ करोड ५० लाखमा किनेको २३ रोपनी ७ आना जग्गामध्ये ३ रोपनी जग्गा धितो राखी २०७९ भदौ १५ गते नै हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण लिएको देखिन्छ ।

    मालपोतको रेकर्ड अनुसार जीबी राईले बेचेको २३ रोपनी ७ आना जग्गाको मूल्य १२ करोड ५० लाख रहेको छ । तर, उक्त जग्गामध्ये तीन रोपनीलाई मात्र १६ करोड ८० लाख ऋण दिएर हिमालयन बैंकले कति रकम भ्यालुएसन ग¥यो ? जबकी राजीनामा पासको रेकर्ड हेर्ने हो भने तीन रोपनी जग्गाको मूल्य एक करोड ६० लाख मात्रै पर्न आउँछ । चलनचल्तीको बजार भाउ अनुसार उक्त जग्गाको मूल्य आनाकै ५० लाख पर्ने बताइन्छ ।

    अवैध रुपमा ऋण प्रवाह गर्दा हिमालयन बैंकका सिइओ अशोक शमशेर राणाले भण्डारी र साहबाट ठूलो आर्थिक कमिसन लिएको बैंककै एक अधिकारी बताउँछन् ।

    उजुरी परेको थाहा पाउँदापाउँदै हिमालयन बैंकका सीईओ राणाले साह र भण्डारीसँग सेटिङ मिलाएर ३ रोपनी जग्गालाई १६ करोड ८० लाख रुपैयाँ ऋण दिएको खुलेको छ । सहकारी समस्याग्रस्त भइसकेपछि जीबीले उक्त जग्गा बिक्री गरेका हुन् ।

    सीआईबीले राणालाई पनि बयानमा बोलाउने हो भने उक्त जग्गा धितो राखी गरिएको ऋण प्रवाह गर्दा ठूलो रकम अपचलन गरिएको खुल्ने बैंक स्रोतको दावी छ ।

    जीबीको जग्गा किनेर बैंकबाट ऋण लिन सफल चेनी क्यापिटलका सञ्चालकहरुमा श्रीमती रश्मिदेवी साह, एकनाथ भण्डारी र रक्षम इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । रश्मीदेवी साह पवनकुमारकी श्रीमती हुन् भने रक्षम इन्भेष्टमेन्ट कम्पनी स्वयं जीबीकै हो । एकनाथ भण्डारी बाजेको सेकुवाका मालिक चेतन भण्डारीका आफन्त हुन् ।

    जीबीको नाममा रहेको उक्त जग्गा खरिद गर्ने चेतन भण्डारी ३३ किलो सुन तस्करी र सनम शाक्य अपहरणपछि हत्या प्रकरणमा मुछिएर अमेरिका पलायन भई अदालतमा मुद्दा दर्ता भएपछि नेपाल आएर मुद्दा खेपेका थिए ।

    स्रोतका अनुसार पवन साह पछिल्ला बर्षमा चीनबाट मल र चिनी तस्करी गर्ने मुख्य पात्र हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल निकट ब्यापारी रमेश शेर्पासँग मिलेर साहले सिल्क ट्रान्सपोर्टबाट मल र चिनी तस्करी गर्दैआएका छन् । उनी हुण्डी कारोबारीका पनि नाइके हुन् ।

    चीनबाट मल र चिनीमात्र होइन, साहले सत्यम एग्रो नामक कम्पनी खोलेर तेस्रो मुलुकबाट सुपारी, केराउ र पोस्तादाना नेपालमा ल्याई भारत तस्करी गर्दै आएका छन् ।

    को हुन् पवनकुमार साह ?
    पवनकुमार साहले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ । सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको देखिन्छ ।

    ४५ वर्षदेखि नेपालमा व्यापार व्यवसाय गर्दै आएको दावी गर्ने साहले कसरी बंशजबाट उक्त नागरिकता लिन सफल भए ? यसमा सीआईबीले छानविन गर्ने हो भने उनले झुटा विवरण पेश गरी नागरिकता लिएको खुल्नेछ । जुन प्रकरणमा छानविन गर्ने हो भने रौतहटदेखि काठमाडौं प्रशासन कार्यालयका सरकारी कर्मचारीहरु अनुसन्धानको दायरामा आउने देखिन्छ ।

    साहले नक्कली बाबु बनाएर नागरिकता लिएको खुल्ने प्रस्ट आधारहरु देखिने उनी निकट स्रोत दाबी गर्छ । हालसालै मात्र तिब्बतीलाई नक्कली नेपाली बनाई नागरिकता दिलाएको प्रकरणमा सरकारी कर्मचारीदेखि तिब्बतीयन नागरिक सोनाम तामाङसहित पाँच जना पक्राउ परेका छन् ।
    कतिपय ठूला परिमाणका सामान छुटाउने क्रममा साहले विचौलियाको रुपमा प्रस्तुत भई भन्सारसँग सेटिङ गर्दै आएका छन् । उनले श्रीमतीको नाममा रौतहटदेखि काठमाडौंसम्म अरबौंका जग्गा जमिन जोडेका छन् । अरबौं मूल्यका उक्त सम्पत्तिको विवरण अनलाइन नेपालसँग सुरक्षित रहेको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पनि उनको स्रोत नखुलेको सम्पत्तिमाथि छानविन शुरु गरेसँगै विचौलिया लगाएर रोकाउन खोजिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार