Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • एमाले सांसद भट्टचन हुन्डी र सहकारी ठगीमा मुछिए, जोगाउन प्रहरीमा चौतर्फी चलखेल

    एमाले सांसद भट्टचन हुन्डी र सहकारी ठगीमा मुछिए, जोगाउन प्रहरीमा चौतर्फी चलखेल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । व्यापारिक पृष्ठभुमीका एमाले सांसद देवीप्रकाश भट्टचन समेत सहकारी ठगीमा मुछिएका छन् ।

    उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी प्रहरीमा परेको छ । तर, भट्टचनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय देखिएको छ ।



    प्रभु म्यानेटम्यान्टकी अध्यक्ष कुसुम लामाले नै भट्टचनविरुद्ध जाहेरी दिएकी हुन् । कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको छ ।



    सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पठाएपछि चलखेलका कारण अनुसन्धान अघि बढ्न सकेको छैन ।

    हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी अलपत्र छ । ११ असोजमै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो ।

    ९८ करोड ठगीसम्बन्धि कागजपत्र उपलब्ध गराउन नसकेको बहानामा अनुसन्धान अघि बढाइएको छैन । खासमा सरकारकै दबाबमा अनुसन्धान हुन नसकेको प्रहरी स्रोत बताउँछ ।

    विस्तृत अनुसन्धान भएमा हुन्डीमा समेत भट्टचन तानिने सम्भावना छ । साथै, प्रभु रेमिटेन्समाथि समेत अनुसन्धान हुने अवस्था छ । उनीहरुले विदेशबाट हुन्डीको रकम सहकारीमार्फत भुक्तानी दिदै आएका थिए ।

    तर, पछिल्लो समय कारोबार बिग्रिएपछि पैसा भुक्तानी दिन सकेका छैनन् । सोही कारण देवीप्रकाश र कुसुमको सम्बन्ध बिग्रिएको हो ।

    उनीहरुले एक अर्कालाई त्यसको आरोप लगाउँदै आएका छन् । सत्ताको आडमा भट्टचनले त्यसको अभियोग कुसुमलाई दिन खोजेपछि उनी प्रहरी कार्यालय धाइरहेकी छिन् ।

    प्रभु ग्रूप निकट स्रोतका अनुसार देवीप्रकाश र कुसुम लामो समयदेखि निकटस्थ थिए । देवीप्रकाशले नै उनलाई प्रभु म्यानेजमेन्टको अध्यक्ष समेत बनाएका हुन् ।

    तर, अवैध कारोबारका कारण उनीहरुको सम्बन्धमा खटपट आएको छ । स्रोतका अनुसार सो विषयमा विस्तृत अनुसन्धान भएमा प्रभु समूहका धेरै कम्पनीहरुको बदमासी बाहिर आउने जोखिम छ ।

    सोही कारण पनि प्रहरीले जाहेरी नै लिन नमानेको हो । भट्टचन प्रभु बैंकका समेत पूर्वअध्यक्ष हुन् भने डिसहोमका पनि पूर्वअध्यक्ष हुन् ।

    प्रभु बैंकमा अहिले पनि उनकै हालिमुहाली छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र देवीप्रकाश एउटै व्यवसायिक समूहका हुन् ।

    उनीहरु मिलेर बैंकबाट नियम मिचेर विभिन्न कम्पनीमा कर्जा प्रवाह गरेका छन् । त्यो कर्जा समेत डुबेको अवस्था छ ।

    भट्टचन पक्राउ परेमा यो विषय समेत बाहिर आउने भएकाले सिईओ शेरचन समेत अहिले अनुसन्धान रोक्न दौडधुपमा लागेका छन् ।

    एमालेको राजनीतिमा नभएपनि आर्थिक सहयोग गरेकै आधारमा भट्टचन समानुपातिक सांसद बन्ने अवसर पाएका थिए ।

    अहिले पैसा र पावरकै जोडमा गम्भीर अपराध लुकाउने प्रयासमा लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार