Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उद्योग विभागमा सरुवा भएका उपसचिव धामीको रजाइँ, डीजी कोइरालाले रोके रमाना

उद्योग विभागमा सरुवा भएका उपसचिव धामीको रजाइँ, डीजी कोइरालाले रोके रमाना

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले पदभार सम्हालेदेखि प्रत्येक फाइलमा आर्थिक संकलन अभियानमा छन् ।

पर्सा लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हुने खेलमा लागेका डीजी कोइरालाले पछिल्ला दिनमा आर्थिक संकलन अभियानलाई तीव्रता दिएका छन् ।

रमेश रिजाल उद्योग मन्त्री हुँदा उनका पीए मात्रिका आचार्यमार्फत् ब्रिफकेस बुझाएर विभागको डीजी भएका कोइराला पर्साको सीडीओ हुन लागेका छन् ।

त्यसका लागि शक्तिकेन्द्र रिझाउन उनले अर्थ संकलन गर्नका लागि विभागका सरुवा भएका निर्देशकलाई समेत रमाना नदिई राखेका छन् ।

उद्योग विभागका विदेशी लगानी शाखाका निर्देशक शंकरसिंह धामीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको एक महिना नाघिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ ३१ गते उनको सरुवा भौतिक मन्त्रालयमा गरेको थियो ।

भौतिक मन्त्रालयले सरुवा भएका धामीलाई असोज ७ गते नै पदस्थापन गरेको छ । सरुवा हुनासाथ भौतिक मन्त्रालयमा लबिङ गरेर पदस्थापन गराएका धामी अझै उद्योग विभागमै कार्यरत छन् ।

उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले आफूलाई विभागमै बस्न निर्देशन दिएका कारण रमाना नलिएको निकटस्थहरूसँग बताउने गरेका छन् । भौतिक मन्त्रालयअन्तर्गतको अत्तरियास्थित कार्यालयमा मेकानिकल समूहको दरबन्दी रिक्त रहेको थियो ।

सोही दरबन्दीमा पदपूर्ति गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले धामीलाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो । सरुवा भएको भोलिपल्टै अत्तरिया नजानका लागि धामीले आफ्नो पदस्थापन मन्त्रालयमै गराए ।

मन्त्रालयका उपसचिव सुरेश श्रेष्ठलाई टेकुस्थित भेइकल फिटनेश सेन्टरमा पठाइएको छ । श्रेष्ठ रघुवीर महासेठ भौतिक मन्त्री हुँदा यातायात व्यवस्था विभागमा जान साम दाम सबै लगाए पनि अन्तिममा असफल भएका थिए ।

भेइकल फिटनेश सेन्टरका मणिराम भुसाललाई पानीजहाज कार्यालयमा पठाइएको छ । पानीजहाज कार्यालयबाट केही समयअघि मात्र सरुवा भएका तुलसी महर्जन भने अलपत्र परेका छन् ।

भौतिक मन्त्रालयअन्तर्गतको मेकानिकल समूहका कर्मचारीको सरुवामा उपसचिव धामी नै हाबी हुन पुगेका छन् । आफ्नो पदस्थापन भौतिकमा गराएर उद्योग विभागमा सेवाग्राहीसँग आर्थिक लेनदेनमा मस्त रहेका धामीको रमाना दिन विभागको प्रशासन शाखाले समेत इन्कार गरिरहेको छ ।

अनुमति शाखाका निर्देशक सरोज पोखरेल, धामी र महानिर्देशक यज्ञ कोइरालाको सेटिङमा प्रशासन शाखाका प्रमुख अर्जुनसेन ओलीले रमाना नदिएको आरोप छ ।

यसअघिका अनुमति शाखाका निर्देशक मनोज रेग्मीलाई सरुवा भएलगत्तै रमाना थमाउने प्रशासन शाखा एक महिनादेखि सरुवा भएका धामीलाई भने ज्वाइँसरह विभागमा राखिएको छ ।

अझै पनि धामीले शाखाका हरेक फाइलमा आर्थिक लेनदेन गरेर काम अगाडि बढाउँदै आएका छन् । सेवाग्राहीसँग आफ्नो सरुवा भएको भनेर काम नलिने, तर सेटिङका फाइलमा उनले भटाभट प्रक्रिया अगाडि बढाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077