काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा उक्त सर्वदलीय बैठक फागुन २१ गतेको निर्वाचन र नयाँ सरकारको गठनपछि पहिलो पटक बसेको हो ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।
बैठकमा रास्वपा सभापति लामिछानेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा सहभागी भएका छन् ।
यसैगरी बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर र नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेत्री शाहजान खातुन उपस्थित भएका छन् ।
त्यसैगरी नेकपाका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली सहभागी छन् ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई अध्यक्ष वा सभापतिसहित दुई–दुई जना सहभागी गराउने आमन्त्रण गरिएको थियो।
तर, विपक्षी दल श्रम संस्कृति पार्टीका तर्फबाट भने बैठकमा कुनै प्रतिनिधि सहभागी छैनन् । बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी छ ।