Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • टेलिकमको अरबौंका टेण्डरमा सेटिङ मिलाउन विभागका प्रमुखहरुको हेरफेर

    टेलिकमको अरबौंका टेण्डरमा सेटिङ मिलाउन विभागका प्रमुखहरुको हेरफेर

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 225
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रवन्ध निर्देशक बनेको डेढ महिना पनि नवित्दै संगीता पहाडीले महत्वपूर्ण विभागका प्रमुखहरु हेरफेर गरेकी छन् ।

    चिनियाँ कम्पनी एशियन इन्फोसँग साँठगाँठ गरी विलिङ सफ्टवेयर खरिद भ्रष्टाचारमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धाइरहेकी पहाडीले आफू अनुकुल विभाग चलाउन प्रमुखहरुको हेरफेर गरेकी हुन् ।



    पहाडीले कम्पनी सचिव रहेका राजेन्द्र अर्याललाई चिफ फाइनान्सियल अफिसर (सीएफओ) मा ल्याएकी छन् भने अख्तियारकै छानविनमा रहेका डिल्ली अधिकारीलाई चिफ कमर्सियल अफिसर (सीसीओ) मा सरुवा गरेकी छन् ।



    सीसीओ सरिता श्रेष्ठ विदामा रहेका बेला हतारमा अधिकारीलाई सीसीओ बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    कम्पनी सचिवमा भने उनले इन्टरनल अडिटमा रहेका द्धारिका पौडेललाई ल्याएकी छन् । त्यस्तै यसअघि सीएफओ रहेका राजेन्द्र श्रेष्ठलाई इन्टरनल अडिटमा सरुवा गरेकी छन् ।

    त्यसैगरी चीफ टेक्निकल अफिसर रहेका अमुल प्रधान विदेशमा रहेका बेला उनको ठाउँमा सविना प्रधानलाई कामु दिइएको छ ।

    टेलिकम स्रोतका अनुसार विलिङ सफ्टवेयरको नयाँ टेण्डरमा पुनः चिनियाँ कम्पनीलाई इन्ट्री गराउन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्देशनमा पहाडीले आफू अनुकुलका व्यक्तिहरुलाई महत्वपूर्ण विभागहरुमा ल्याएको बताउने गरेकी छन् । तर, सरुवामा मन्त्री गुरुङले भने खासै चासो नराखेको बताइएको छ ।

    केही समय अघि टेलिकमले आह्वान गरेको एसएमएस सिस्टमको टेण्डरमा तीन वटा चिनियाँ कम्पनी मात्र छानिएका छन् ।

    करिव ४० करोडको उक्त टेण्डरमा चिनियाँ कम्पनीहरु जीन्यू टेक्नोलोजी, हुवाय टेक्नोलोजी र जेटीइ कर्पोरेसन गरी तीन कम्पनीहरु मात्र प्राविधिक रुपमा सफल भएका छन् । यो टेण्डरमा पनि पहाडीले श्रीमान् विश्वबन्धु पहाडीमार्फत ठूलो स्वार्थ राखेको टेलिकम स्रोत बताउँछ ।

    यसको आर्थिक प्रस्ताव कार्तिक ७ गते खोलिंदै छ ।

    त्यस्तै रद्द भएको विलिङ सफ्टवेयरको नयाँ टेण्डर खुलाउन १४ जनाको कमिटि गठन गरिएको छ । विलिङ सफ्टवेयरको टेण्डरको प्राविधिक छनौटमा अमेरिकन कम्पनी सीएसजी मात्र पास भएपछि चिनियाँ कम्पनीहरुले ठूलो चलखेल गरी टेण्डर रद्द गराउन सफल भएको टेलिकमकै एक डिएमडी बताउँछन् ।

    उनले भने–‘टेलिकममा चिनियाँ कम्पनीहरुले जरा गाडेको धेरै वर्ष वितिसकेको छ । प्रधानमन्त्री तहदेखि सञ्चारमन्त्रीसम्म चिनियाँ कम्पनीका एजेन्टहरुले आर्थिक प्रभाव जमाएका कारण अब हुने विलिङ सफ्टवेयरको टेण्डरमा एशियन इन्फोलाई आउट गरिए पनि अन्य कुनै चिनियाँ कम्पनीले नै टेण्डर हत्याउने निश्चित छ ।’

    त्यसो त टेलिकमकी प्रवन्ध निर्देशक पहाडीमाथि पूर्व एमडी सुनिल पौडेलसँगै जोडिएको विलिङ सफ्टवेयरलगायतका टेण्डरमा भएको अनियमिततामा अख्तियारले डण्डा हान्ने अवस्था पनि उत्तिकै छ ।

    एशिया इन्फोको पुरानो बिलिङलाई पाँच वर्षका लागि एमएमएस एक्स्टेन्सनको सम्झौता गर्दा पनि ठूलो आर्थिक चलखेल भएको थियो । जुन प्रकरणमा पहाडीसहित ४२ जना कर्मचारी मुछिएका छन् ।

    पहाडी चिफ कमर्शियल अफिसर (सीसीओ) छँदा एमएमएस एक्स्टेन्सन हुँदा बिलिङको पुननिर्माणको काम गराएकी थिइन् ।

    पहाडीले एएमएस विथ अपग्रेड खरिद गर्ने सम्बन्धी समितिहरु रिभ्यु एमओएम, रिभ्यु स्वीकृति तथा संचालक समितिमा पेश गर्ने टिप्पणीमा निर्णय गरेकी थिइन् । अख्तियारले यी सबै कागजातहरु झिकाएर गरेको छानविन अन्तिम चरणमा पुगिसकेको छ ।

    अख्तियारले पहाडीमाथि मुद्दा चलाउने तयारी गरिरहेको हुँदा पहाडीको उत्तराधिकारीको रुपमा डिल्ली अधिकारीलाई ल्याउन बालुवाटरले अहिलेदेखि नै अधिकारीलाई महत्वपूर्ण विभागमा प्रवेश गराएको हो ।

    अधिकारी एमाले नेता गोकुल बास्कोटा निकट मानिन्छन् । अधिकारीमाथि श्रीमतीको नाममा विदेशमा डलरमा घुस लिएकोलगायतका प्रकरणमा पनि अख्तियारले छानविन गरिरहेको छ ।

    तत्कालिन सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले १०औं तहमा कार्यरत रहेका बेला सिनियरहरु हुँदाहुँदै जुनियर अधिकारीलाई एमडी बनाएका थिए ।

    तर, एमडीको कार्यकाल सकिएपछि पनि उनी १०औं तहमा फर्किएर काम गर्दै आइरहेका थिए । अहिले भने उनी ११ औं तहमा बढुवा भएर सीसीओ बन्न सफल भएका हुन् ।

    अधिकारी त्यस्ता व्यक्ति हुन्, जसले घुसबापतको रकम श्रीमतीको नाममा डलरमा लिएको समेत फेला परेको थियो । अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेपछि उनी अख्तियारको छानविनमा तानिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार