Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मेल्लेख गाउँपालिकाले पनि रोक्यो प्रमुख प्रशासकीय अधिकृत, ओली बीच बाटोबाटै फर्काइए !

मेल्लेख गाउँपालिकाले पनि रोक्यो प्रमुख प्रशासकीय अधिकृत, ओली बीच बाटोबाटै फर्काइए !

बिहिवार , आश्विन १७, २०८१

अछाम । अछामको मेल्लेख गाउँपालिकाले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई बीच बाटोबाटै फर्काएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २६ गते गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नवराज ओलीलाई सरुवा गरेको थियो ।

तर गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले उनलाई गाउँपालिकामा नपठाउन भन्दै मन्त्रालयलाई नै पत्र पठाएको खुलेको हो । सो पश्चात पालिकामा हाजिर गर्न आइरहेका शाखा अधिकृत ओली बीच बाटोबाटै फर्किएका हुन् ।

अध्यक्ष साउँदले मन्त्रालयलाई सम्बोधन गरेको पत्रमा भनिएको छ, 'यस मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कर्मचारी संकेत नं. १९५६४८ जनस्वास्थ्य अधिकृत छैठौ श्री हिक्मत बहादुर बुढाले हाल गाउपालिकाको दैनिक प्रशासनिक तथा आर्थिक कामकाज गरी रहनु यस गाउपालिकाको दैनिक आर्थिक तथा प्रशासनीक कार्यमा सहजता भएको व्यहोरा अनुरोध छ । हाल त्यहाँ मन्त्रालयबाट यस मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाईएको हुँदा हाललाई यस गाउँपालिकामा खटी आउने प्रमुख प्रशासकीय अधिकृतलाई अन्यत्र कार्यालयमा खटाई सहजीकरण गरिदिन हुन अनुरोध छ ।'

साथै प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकासँग समन्वय गरि खटाई दिनहुन पनि अध्यक्ष साउँदले अनुरोध गरेका छन् ।

यता प्रमुख प्रशासकीय अधिकृत ओलीले आफू दैनिक प्रशासनिक कामकाजमा खटिनको लागि अछाम आइरहेको बेला बीच बाटोमा नआउनु भन्ने खबर पाएको प्रतिक्रिया दिए ।

मन्त्रालयले पठाइसकेपपछि अछामको दुर्गम ठाउँका नागरिकलाई सेवा दिन आउँदा स्थानीय तहका जनप्रतिनिधिले बीच बाटो बाटै कर्मचारीलाई फर्काउनुले कर्मचारीहरुको मनोबल कमजोर पार्ने काम भएको उनले बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत आउँदा मनपरी गर्न नपाइने भएपछि पटकपटक रोक्ने गरिएको छ ।

यसअघि चौरपाटी गाउँपालिकामा खटाइएका नयाँ हाकिमको पनि हाजिर नहुँदै सरुवा भएको थियो । उनी चर्को दबबापछि पालिकामा हाजिर नभएरै काठमाडौंको एक मन्त्रालयमा सरुवा भएका हुन् । कमजोर नेतृत्व र निर्णय क्षमताका कारण निमित्तहरुले चलाएको स्थानीय तहहरुको कार्यसम्पादन प्रभावित भइरहेका छन् ।

तर अछामका यी दुई स्थानीय तहले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै बढी रुचाएको देखिन्छ । यहाँ लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077