काठमाडौं । काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या उनकै श्रीमतीसहित दुई जनाले गरेको खुलेको छ ।
आइतबार कालोपुलस्थित डेराको घरमा प्रेम मृत अवस्थामा फेला परेका थिए । तर अनुसन्धानका क्रममा प्रहरीले मृतककी श्रीमती उषा नेपाली र मदन रम्तेललाई पक्राउ गरेको हो ।
पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा प्रेमकी श्रीमती हुन् । त्यस्तै सोही ठाउँका २७ वर्षीय मदन रम्तेललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट लिभ–इन रिलेसनमा बस्ने उषा एक्लैले युवकको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । हत्याको कारण ‘विवाहेत्तर सम्बन्ध’ भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रेमको पनि अर्कै पत्नी छिन् । वैदेशिक रोजगारीमा गएर उनी भर्खरै काठमाडौँ आएकी छन् । प्रेम र उषा विगत एक महिनादेखि कालोपुलस्थित एक घरमा डेरा लिई बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।