काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखा प्रमुखहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार २८९ जना लेखापालको सरुवा गरेको हो ।
नयाँ आर्थिक वर्षको सुरुवातमा बजेट चल्ने युनिटमा लेखापाल फेरिएका हुन् । आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २८९ जना लेखा प्रमुखहरुको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले देशभरका सबै प्रहरी कार्यालयमा साउन ११ पत्राचार गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेको जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले वर्षको असार मसान्तभित्र लेखापालहरुको सरुवा गर्दै आएको थियो । तर यसपटक ढिलो गरी लेखापालहरुको सरुवा गरिएको हो । सो सरुवामा चलखेलको आशंका गरिएको छ ।
ठूला बजेट चलाउने कार्यालयमा जान लेखापालहरुको अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएर काम गरेकाहरुको असार मसान्तमा सरुवा गर्ने प्रावधान छ ।