काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने बताएका छन्।
विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै सचेतक लेखकले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राखेका अधिकांश विषयमा आफ्नो असहमति रहेको उनको भनाई छ । तर पीडा र आक्रोशमा रहेका उनीमाथि राजनीतिक टिप्पणी गरेर थप पीडा दिने परम्परा नभएको सचेतक लेखकले बताए।
सचेतक लेखकले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ । यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो–अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि ?’
बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको उनले बताए।
प्रमुख सचतेक लेखकले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गरे ।
उनले जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर गल्ती गर्यौं कि भन्दै व्यंग्य गरे ।
कांग्रेस नेता लेखकले राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिलेको बताए ।