काठमाडौं । भ्रष्टाचारसम्बन्धि अनुसन्धान गर्ने दायित्व बोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप शक्तिशाली बनेको छ ।
सरकारले कानून संशोधन गरी आयोगलाई थप अधिकार दिएको हो । गत असार १७ गते अख्तियारको नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको छ ।

जसअनुसार अख्तियारले अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि आफैं अनुसन्धान गरी अभियोजन गर्न पाउनेछ ।
अनुसन्धानका क्रममा उसले शंकास्पद व्यक्तिको फोन गोप्य रुपमा रेकर्ड(इन्टरसेप्सन) समेत गर्न पाउने अधिकार नियमावलीले दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई संशोधन गरी कार्यान्वायनमा लगिएको हो ।
नियमावलीमा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानको क्रममा नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी परिचालन, अन्डर कभर अप्रेसन, टेलिफोन इन्टरसेप्सन, पक्राउ तथा बिद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच जस्ता अनुसन्धान विधि प्रयोग गर्न सक्ने उल्लेख छ ।
सुराकी परिचालन गरी कसुरको सूचना प्राप्त गर्न आयोगले छुट्टै इकाई गठन गर्न सक्ने उल्लेख छ । जसअनुसार आयोगले तयारी अघि बढाइसकेको छ ।
ऐन संशोधन भएसँगै अब भ्रष्टाचार गरेर कसैले सम्पत्ति शुद्धीकरण गरेको पाइएमा त्यसमा सँगै अनुसन्धान हुने भएको छ ।
हाल आयोगले आइटीसम्बन्धि श्रृङखलाबद्ध भ्रष्टाचार मुद्दामा जेलमा रहेका विकल पौडेल र सुनिल पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।