इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक घरमै राख्नुपर्ने बताएका छन् ।
इटहरीमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले पार्टीबाट यसपालि सरकारमा मन्त्री पठाउँदा सबैको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने बताए।
यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने महामन्त्री थापाको भनाई छ ।
उनले पार्टीभित्र भाग पुर्याउने नाममा पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए।
महामन्त्री थापाले भने, ‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ। पटक-पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिनुपर्छ, घरमै राखे हुन्छ।’
फरक प्रसंगमा थापाले अहिले कांग्रेस र एमाले एकठाउँमा आउने अवस्था बनेको बताए। प्रचण्डले धेरै चकचक गरेकोले एमाले र कांग्रेस सरकारमा सँगै बस्ने अवस्था आएको थापाको भनाइ छ।
गत असार १७ गते कांग्रेस र एमालेबीच सरकार बनाउने र संविधान संशोधन गर्नेजस्ता विषयमा सहमति बनेको थियो।