धनगढी । तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ।
उत्तरमा चीनको सीमादेखि कैलाली र कञ्चनपुरमा भारतसितको खुला सीमाना जोडिएको सुदूरपश्चिम प्रदेशमा प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकको जीउधनको रक्षाका निम्ति भाडा र स्थानीय तह, विद्यालय, तथा अन्य सार्वजनिक भवनमा चौकी स्थापना गरिएको अवस्था छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जिल्ला प्रहरी कार्यालय र इलाका स्तरसम्म प्रहरीको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना बनिनसकेको बताए। उनले गाउँघरमा चौकी र बिटहरुको भौतिक संरचना निर्माण कार्य दोस्रो चरणमा रहेको जानकारी दिए।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यहाँका नौ वटा जिल्लाका विभिन्न स्थानमा गरी ३६ वटा प्रहरी युनिट भाडाका घरमा सञ्चालित छन्। सत्र प्रहरी युनिट पालिका, सङ्घ÷संस्था, विद्यालयलगायतका निकायका भवनमा सञ्चालित छन्। तराईका भन्दा पहाडी जिल्लाका दूरदराजका प्रहरी चौकी प्रायः भाडा र अरु निकायको भवनबाट सञ्चालित छन्।
पछिल्लो समय सङ्घीय बजेट र प्रदेशको बजेटले यहाँ प्रहरीका भौतिक संरचना निर्माण हुने क्रम जारी छ। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गत वर्ष यहाँ आठ वटा प्रहरी कार्यालयका भवन निर्माण भएका थिए। आन्तरिक मामिला तथा कानून मन्त्रालयले हाल सात प्रहरी कार्यालय निर्माणाधीन रहेको जनाएको छ।
मन्त्रालयको योजना शाखाका नासु मनोज जोशीले सुदूरपश्चिममा इप्रका र प्रहरी चौकी प्रदेश सरकारको लगानीमा बढी सङ्ख्यामा निर्माण भइरहेका बताए। ‘५० लाखदेखि चार करोडसम्मका प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण हुँदैछन्’, उनले भने, ‘नयाँ भवनका साथै पुराना भवनको मर्मत एवं संरक्षण सम्वद्र्धनमा पनि प्रदेश सरकारले लगानी गरेको छौँ।’ रासस
Leave a Reply