काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका निजी विद्यालयमा करिब डेढ लाख विद्यार्थी भर्ना भएको बताएका छन् ।
सामाजिक संञ्जालमा लेख्दै मेयर बालेनले उक्त जानबारी दिएका हुन् । मेयर बालेनबा अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्।
मेयर बालेनले कानुनको पालना मात्र गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरे।
महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन् ।
विद्यालयहरूले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ । तर कतिपयले त्यो नियम पालना नगरेको पाइएपछि महानगरपालिकाले नियम पालना गर्न ताकेता गर्दै आएको छ ।
मेयर बालेनले भनेका छन्, 'हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीहरुलाई करिब २ अर्ब बराबर को छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरेका छौ।'
३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गर्ने उनले बताए ।