Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नदीजन्य पदार्थ उत्खनन गर्दा ३६ लाख भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नदीजन्य पदार्थहरू ढुङ्गा बालुवा ठेक्का दिँदा आर्थिक अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूले ३६ लाख ७८ हजार ५४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।​​

भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरू उत्खनन् तथा संकलन र विक्री वितरण कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण कार्यको लागि एकआपसमा मिलोमतो गरी अनियमितता गरिएको अभियोगपत्रमा उल्लेख छ ।

धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्र दाताले समयमा सम्झौता गर्न इन्कार गरे पनि धरौटी समयमा जफत नगरेको अभियोगपत्रमा उल्लेख छ ।

अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानून विपरीतका कार्य गरिएको अख्तियारका प्रवक्ता घिमिरे बताए ।

उक्त मुद्दामा तत्कालीन लेखा अधिकृत मान बहादुर ठाडा, इन्जिनियर विजय कुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्ज्वल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनारलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए।

त्यसैगरी न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोप्राइटर हरिबहादुर बुढा क्षेत्री र नवराज कन्स्ट्रक्सनका नवराज ढकाल, एन्जल कन्स्ट्रक्सनका भीमबहादुर बुढा क्षेत्रीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077