विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भएको आरोप लगाएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले कांग्रेस एकछिन सरकारमा नहुँदा पानीबाट निकालेको बगरको माछाजस्तो छटपटाएको टिप्पणी गरे।
अध्यक्ष ओलीले भने, ‘बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छट्पटिनु र पानीबाट निकालेको बगरको माछाजस्तो फट्याकफट्याक गरेको छ । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ ।’
सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन जेठ ५ गते भएको सहमतिअनुसार कार्यादेश बने मात्रै काम अगाडि बढ्ने उनले बताए । नेपाली कांग्रेसले सहमति तोडेको उनले बताए ।
कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भनेर जिकिर गरेको उनको आरोप छ । कांग्रेसले आफ्नो मतियार भएर आफ्नानिम्ति काम गरेन भने जसलाई पनि गाली बेइज्जत गर्ने गरेको ओलीले आरोप लगाए । कांग्रेसलाई सम्हालिन उनले सुझाव दिए ।