काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको प्रस्तुतिअनुसार कांग्रेसले डील गर्दै जाने बताएका छन् ।
सभामुखले बोलाएको बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।
सचेतक लेखकले संसद खुलाउने बल सरकारको कोटमा रहेको बताए। उनले संसदलाई अगाडि बढाउने जिम्मा पनि सरकारकै रहेको बताए।
प्रमुख सचेतक लेखकले भने, 'सरकारले प्रमुख प्रतिपक्षी दललाई न्याय गरेको हामीले पाइरहेका छैनौं। संसदलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो। संसद कसरी अगाडि बढाउने बल पनि सरकारको कोटमा छ। सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छ।'
उनले संसदले गर्ने काम नै जनताका जल्दा बल्दा कुरामा बहस गराउने रहेको प्रष्ट पारे। सहकारीमा अर्बौं रकम अपचलन भएको समेत प्रमुख सचेतक लेखकले दाबी गरे ।
बचतकर्ताहरूको बचतको सुरक्षा ग्यारेन्टी गर्ने र समस्याको निकास दिने थलो संसद भएको उनले बताए । जनताका जल्दा बल्दा विषयमा संसदमा बहस हुन जरुरी रहेको प्रमुख सचेतक लेखकको भनाइ छ।