Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

    तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन्।

    त्रिविद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन्।



    त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिने लगायतका विषय सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उनले निर्देशन दिएकी छन्। त्यस्तै त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताइन्।



    सो अवसरमा त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिविको पुनः संरचना प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

    ‘सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० मा पनि विश्वविद्यालयको पुनः संरचनाको विषय उल्लेख भएको छ,’ उनले भने, ‘पुनः संरचना टुंगो लगाइसक्ने भन्ने होइन तर विभिन्न तीन वटा क्याम्पसलाई डिग्री अवार्डिङ इन्स्टिच्युसनका रूपमा विकास गर्ने भन्ने हाम्रो योजना हो।’

    त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले प्राध्यापक र विद्यार्थीको गुनासो सुन्न छुट्टै संयन्त्र स्थापना गर्न आवश्यक रहेको बताए।

    रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले हराएका उत्तरपुस्तिकाका सम्बन्धमा छानबिन गर्न २०८० चैत १५ गते पूर्वरजिस्ट्रार प्रा।डा। चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उच्चस्तरीय समितिले छानबिन प्रतिवेदन बुझाइसकेको र हाल उक्त प्रतिवेदनको अध्ययन भइरहेकाले समितिको सुझावलाई यथाशीघ्र कार्यान्वयन गरिने बताए।

    त्रिविले जनशक्ति व्यवस्थापन तथा दरबन्दी पुनरावलोकनबारे पनि अध्ययन भइरहेको जनाएको छ।

    त्रिविद्वारा विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान जनशक्ति व्यवस्थापन र दरबन्दीको अवस्था अध्ययन गरी त्रिवि सेवा आयोगमार्फत यथाशक्य विज्ञापन गराई शिक्षक कर्मचारीको पदपूर्ति गर्न प्रा.डा. नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरवलोकन एवं व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको छ।’

    ‘पदपूर्तिसँग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरी सेवा आयोगमार्फत अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गरेका व्यक्तिलाई फास्टट्रयाकबाट प्राध्यापकमा नियुक्त गर्ने गृहकार्य भइरहेको छ,’ विज्ञप्तिमा थप भनिएको छ।

    त्यसैगरी त्रिविको समकक्षताका सम्बन्धमा उत्पन्न समस्या निराकरण गर्न प्रा।डा। भीमसेन देवकोटाको संयोजकत्वमा समकक्षतासम्बन्धी कार्यविधि संशोधन समिति गठन गरिएको छ। समकक्षतामा देखा परेका दुविधाहरू अन्त्य गर्न र सेवाग्राहीलाई बिना झन्झट समकक्षता उपलब्ध गराउन प्रतिबद्ध रहेको विश्वविद्यालयले जनाएको छ।

    त्रिविको दृष्टिकोण-२०३० र उपकुलपतिको सोचपत्रबीच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति गठन गरी कार्यादेश दिइएको छ।

    साथै त्रिविअन्तर्गतका निकायमा तोकिएका पदाधिकारीहरू नियुक्त गर्दा अपनाउनु पर्ने आधार तथा मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेस गर्न प्रा.डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति मापदण्ड निर्माण गरी कार्य सुरू भइसकेको जनाइएको छ।

    विश्वविद्यालयका अनुसार त्रिवि प्राज्ञिक परिषद २०८० चैत १५ को निर्णय अनुसार त्रिविका सबै संकायबाट वार्षिक परीक्षा प्रणालीअनुसार लिइने स्नातक तहको आगामी प्रथम वर्षको परीक्षाबाटै अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गरिने भएको छ।

    क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रिया अझ सरलीकरण गर्ने निर्णय भएको पनि विश्वविद्यालयले जनाएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार