Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तटबन्ध निर्माणमा ८५ लाख भ्रष्टाचार, तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।​

अख्तियारले उपप्रमुख रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

​ उनीहरूसँगै नगरपालिकाका इन्जिनियर रंजित साह र सव-इन्जिनियर सञ्जीव चौधरी, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा, उपभोक्ता समितिका पदाधिकारीहरू शम्शेरबहादुर बस्नेत, इन्द्रबहादुर घिसिङ्ग र निर्मलाकुमारी देवीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​​

​लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए।

आर्थिक वर्ष २०७५/०७६ मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा अनियमितता भएको आयोगको दाबी छ ।

४८१२.५० वर्ग मिटरको ग्याबिन बक्सको प्रयोग गर्ने लागत अनुमान तोकिएकोमा ३४९५.१५ वर्ग मिटरको परिमाणमा निर्माण गरिएको अभियोग पत्रमा उल्लेख छ । त्यसै गरी लागत अनुमानमा ८,४०० घन मिटरको माटो पुर्ने काम तोकिएकोमा सो भन्दा बढी गरी १४,७०० घनमिटरको परिमाणमा भएको पाइएको आयोगको दाबी छ ।

ढुङ्गा (ग्याबिन जाली)को कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटबन्ध कमसल हुन पुगेको आयोगले जनाएको छ ।

साथै निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तर युक्त, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई ८५ लाख १८ हजार ६३१ रुपैयाँ भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077