काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ।
२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २४ माघ २०८० मा पास भएर राष्ट्रिय सभामा आएको थियो। कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरू रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए।
त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ । समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव बैठकसमक्ष पेस गरेका थिए।
त्यसमाथि सांसदहरू प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा. विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखेका थिए।