Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मीन विश्वकर्मा भन्छन्–महामन्त्री थापाको प्रतिवेदन संशोधन भएर आउँछ

काठमाडौं। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्री गगन थापाको प्रतिवेदन संशोधन भएर आउने दावी गरेका छन् ।

यद्यपी सोमबार बिहान सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापासँग सहमति नजुटेपछि महासमिति बैठक उद्घाटन लगत्तै पुनः छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यता, विश्वकर्मा भने विहानको बैठकपछि महामन्त्री थापा प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको दाबी गर्छन् ।

विश्वकर्माले भने–‘साँझ डकुमेन्ट आउँछ । संशोधन भएर आउँछ, महामन्त्रीज्यू कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन् ।

महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए । विशेष गरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो ।

चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रस्तावमा सहमति खोज्न सभापति देउवा र महामन्त्री थापा सोमबार बिहानैदेखि बूढानीलकण्ठमा भएकाे छलफल निष्कर्षविहीन टुंगिएको हो ।

महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि छलफल गर्ने तय भएको छ । महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा सभापति देउवासहित उनको टिममा रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताले सो विषयमा असन्तुष्टि जनाएका हुन् ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ । उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने माग गरेका छन् ।

कांग्रेसको महासमिति बैठकका लागि कांग्रेस नेताहरू गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न तहका दुई हजारभन्दा बढी प्रतिनिधि एवम नेता सहभागी भइरहेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

त्यस्तै प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।

विश्वकर्मा सहितका संस्थापन पक्षका नेताहरूले भने महामन्त्री थापाको प्रतिवेदन संशोधनको विषयमा समेत सहमति भएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077