चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको बताएका छन् ।
चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई अध्यक्ष ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरे।
उनले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गरे।
धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै अध्यक्ष ओलीले भने, ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छर त्यसमा ?’
प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको अवधिमा के-के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको भनाइ थियो ।
नेकपा एमालेले सरकारको कामलाई नजिकबाट खबरदारी गरिरहेको भन्दै ओलीले नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए ।
नेपाली कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै ओलीले उनीहरु एजेण्डाविहीन पनि भएको बताए । तर एमालेसँग राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको दाबी उनले गरे ।