काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेका छन् ।
स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको छ ।
निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित नामावलीमा कुनै मतदाताको नाम छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
Leave a Reply