Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उनीहरुले मानव अंग प्रत्यारोपण ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १४ (क)मा बिरामीको नजिकको नातेदारले मात्रै अंगदान दिनसक्ने व्यवस्था छ ।

ऐनमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री र तिनलाई राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमालाई नजिकको नातेदार मानिएको छ ।

त्यसैगरी काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देवरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भाञ्जा, भाञ्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ अनि जेठानलाई मात्र नजिकको नातेदार मानिएको छ ।

कानुनमा भएको यो व्यवस्थाले परिभाषा बाहेकका आफन्त र शुभचिन्तकबाट मानव अंग आदानप्रदानको अवस्था नरहेको, त्यसले गर्दा बिरामीहरुको बाँच्न पाउने हक हनन भएको भन्दै उनीहरुले मुद्दा हालेका हुन् ।

उनीहरुको निवेदनमाथि २९ मंसिरमा सुनुवाइ हुने गरी पालो तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077