Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • के हो रवि लामिछानेको पार्टीभित्रको हस्ताक्षर विवाद ?

    के हो रवि लामिछानेको पार्टीभित्रको हस्ताक्षर विवाद ?

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक लफडा बाहिरिएको छ । रास्वपाको राजनीति दस्तावेजको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने भन्ने विषयमा देखिएको विवाद बाहिरिएको हो ।

    राजनीतिक दस्तावेजको प्रस्तावनामा क–कसले हस्ताक्षर गर्ने भन्ने विषयमा विवाद भएको थियो । प्रस्तावनालाई अन्तिम रुप दिन गठन भएको १७ जनाको टोलीमध्ये तीन जनाले प्रस्तावनाको माथि हस्ताक्षर गरी अन्य सदस्यलाई तलमात्रै हस्ताक्षर गर्न अनुरोध गरेपछि विवाद चुलिएको स्रोतको दावी छ । तीन जनामध्येका महामन्त्री मुकुल ढकालले अन्य सदस्यहरुलाई तल मात्रै हस्ताक्षर गर्न भनेपछि विवाद सृजना भएको हो ।



    मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बसेको थियो । मंसिर ११ र १२ को बैठक सकिएपछि ‘नीतिविचार प्रतिनिधिमण्डल’को बैठक बस्ने गरी कार्यतालिका बनाइएको थियो । राजनीतिक दस्तावेजको प्रस्तावनालाई अन्तिम रुप दिन १७ जनाको टोलीमा छलफल भएको थियो ।



    नीतिविचार प्रतिनिधिमण्डलले दुई दिनमा प्रस्तावनालाई टुंगो लगाउन नसकेपछि तेस्रो दिन विहान पुन बैठक डाकियो । १७ जनामा करिब सहमति भइसकेको प्रस्तावनालाई अन्तिम रुप दिन उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको छुट्टै बैठक बस्यो ।

    तीन नेताले प्रस्तावनालाई टुंगो लगाए र प्रस्तावनाको माथिल्लो भागमा ढकाल, वाग्ले र परियारको हस्ताक्षर गरे । महामन्त्री ढकालले प्रतिनिधिमण्डलका अन्य सदस्यलाई प्रस्तावनाको तल्लो भागमा हस्ताक्षर गर्न आग्रह गरे । त्यसपछि शुरु भयो लफडा ।

    ढकालको आग्रह अन्य सदस्यले स्वीकार गरेनन् । प्रतिनिधिमण्डलका सदस्यमध्येका सांसद गणेश पराजुलीले तीन जनाले हस्ताक्षर माथि गर्नुपर्ने अरुले तल्लो भागमा किन ? भन्दै यो प्रश्न ढकाललाई अरुले पनि साथ दिएको एक सदस्यले बताए ।

    १७ जनाभित्रका ती सदस्यले भने–‘१७ जनामा सबैको योगदान बराबर हो । तीन जनाले माथिल्लो भागमा हस्ताक्षर गरेर आफ्नो हैसियत बढी देखाउन खोजेपछि विवाद भएको हो ।’ विवाद थप बढेपछि महामन्त्री ढकालले ‘हस्ताक्षर नगर्ने भए नगर्नुस्’ भन्दै प्रस्तावना नै भुइँमा मिल्काएर हिंडेका थिए ।

    अन्ततः बाँकी १४ जनामध्येबाट एक जनाले मात्रै भए पनि राजनीतिक दस्ताबेजको माथिल्लो भागमा हस्ताक्षर गर्नुपर्ने अडान राखेपछि अन्तिममा चार जनाको हस्ताक्षर माथिल्लो भागमा र बाँकी १३ जनाको हस्ताक्षर प्रस्तावनाको तल्लो भागमा गरिएको ती सदस्यले बताए । माथिल्लो भागमा हस्ताक्षर गर्ने अर्का व्यक्ति सहप्रवक्ता रमेश प्रसाईं थिए ।

    यद्यपी महामन्त्री ढकालले भने रास्वपाका अहिलेसम्मका निर्णय सहमतिमा नै भएको बताउँदै हस्ताक्षरको कुरा ठूलो विषय नभएको प्रतिक्रिया दिए । उनले जिस्किने तहमा मात्रै हस्ताक्षरको कुरा उठेको दावी गरे ।

    हस्ताक्षरसहितको प्रस्तावना भने सार्वजनिक गरिएको छैन । दस्तावेज निर्माणका लागि पार्टीले बनाएको प्रतिनिधिमण्डलमा उपसभापति वाग्ले, महामन्त्री ढकाल, तीन सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, विपीनकुमार आचार्य, सहप्रवक्ता मनिष झा र रमेश प्रसाईं छन् । साथै संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, नेताहरु शिशिर खनाल, सोविता गौतम, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, कमल सुवेदी, गणेश पराजुली, क्रान्तिशिखा धिताल र शंकर श्रेष्ठ छन् ।

    ‘नयाँ युगको संकल्प’ नाम दिइएको राजनीतिक दस्तावेज पार्टी स्थापना दिवस (असार ७) मा सार्वजनिक गर्ने तयारी गरिए पनि विवादका कारण रोकिएको थियो । १३ मंसिरमा रास्वपाले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै सार्वजनिक गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार