काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
शारदा कठायत र मन्धरादेवी विष्टले दिएको रिटमाथि बिहीवार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले कारण देखाउ आदेश दिएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र १ नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे सर्वोच्चले लिखित जवाफ माग गरेको हो ।
रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण लिखित रुपमा अर्को पेसीमा जवाफ दिन सर्वोच्चले भनेको छ।
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायतका व्यक्तिको कैद छुट गरेका थिए।