काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए ।
बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक सदस्यले बताए । कानुनमन्त्री धनराज गुरुङले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रियामा सत्ता गठबन्धन दलको भागबन्डामा पर्नेगरी न्यायाधीश नियुक्ति हुनुपर्नेमा घुमाउरो रूपमा जोड दिएको न्याय परिषद्का एक सदस्यले बताए ।
हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीसहित २१ जनाको दरबन्दीमा सात जना न्यायाधीश रिक्त छन् । तीमध्ये हाल न्यायाधीश नियुक्तिको सिफारिस गर्दा तीन जना कानुन व्यवसाय तथा प्राध्यापन क्षेत्रबाट र चारदेखि पाँच जना तल्ला अदालतका न्यायाधीशबाट हुन सक्नेछ । त्यसो हुँदा कांग्रेसनिकट कानुन व्यवसायीबाट दुई जना र माओवादी निकट कानुन व्यवसायीबाट एक जनाको नाम सिफारिस गर्ने तयारी छ ।
त्यस्तै, तल्लो अदालतबाट न्यायाधीश सिफारिस गर्दा चार जनामध्ये एक जना मुख्य न्यायाधीशबाट न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । त्यसो हुँदा हाल एक मात्रै मुख्य न्यायाधीश नृपध्वज निरौलाको सम्भावना प्रबल छ । निरौला हाल दिपायल उच्च अदालतमा मुख्य न्यायाधीश छन् । त्यसपछि वरीयता क्रममा न्यायाधीशहरू सत्यमोहन जोशी थारु, सारंगा सुवेदी र रत्नबहादुर बागचन्द अगाडि छन् । राजधानी दैनिकबाट
Leave a Reply