काठमाडौं । हमासको आक्रमणबाट इजरायलमा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो ।
उनीहरुको शवको पहिचान भएसँगै हालसम्म ८ विद्यार्थीको शवको पहिचान खुलेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजदूतावासका अनुसार बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ । यसअघि ५ जना विद्यार्थीको शवको पहिचान भएको थियो ।
आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमै उपचाररत छन् ।
दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी राखिएको जनाएको छ ।