काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
इजरायलबाट बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे नेपालीको शव ल्याइएको छ ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।