काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न संसद्को ध्यानाकर्षण गराएको छ ।
संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु न्यायलाई प्राथमिकता दिन संसद्को ध्यानाकर्षण गराएका हुन् ।
टोलीले जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्नेलगायत कार्यमा संसद्को भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
जलवायु वित्तमा प्रभावकारी कदम चाल्न संसदीय समिति गठन गर्नसमेत एक्सन एडले आग्रह गरेको छ ।
संस्थाले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभामुख देवराज घिमिरेले जलवायुजन्य चुनौती सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि पहल गर्ने बताए।
Leave a Reply