काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान उडेका छन्।
नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीप सोमबार बिहान कतार एयरवेजको उडानमार्फत् पाकिस्तान गएका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा विमान चढेको तस्बिर राख्दै सन्दीपले एसिया कपका लागि साँच्चिकै उत्साहित र उत्सुक रहेको लेखेका छन्।
यसअघि पनि पाकिस्तानमा हुँदाका धैरै राम्रा सम्झनाहरु रहेको उल्लेख गर्दै सन्दीपले एसिया कपका लागि उत्साहित भएको बताएका छन्।
सन्दीपले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
सन्दीपलाई बिदाइ गर्न सदस्यसचिव घिसिङ विमानस्थलमै पुगेका थिए। सन्दीपविरुद्धको मुद्दामा आइतबार पेसी थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा हेर्न नभ्याइने भएपछि मुद्दाको पेसी भदौ २१ गतेसम्मलाई सरेको छ।