Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साल्ट ट्रेडिङले भन्यो - जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल मौज्दात छ

जुम्ला । जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ । यहाँस्थित डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख मल्लले भने, “जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।”

गएको असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाँडभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकामस्थित डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।

गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल नुन कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।

वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077