Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • गलत प्रतिवेदन तयार गरेर २२ लाख बढी हिनामिना, गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    गलत प्रतिवेदन तयार गरेर २२ लाख बढी हिनामिना, गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​

    अख्तियारले गाउँपालिका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउनको लागि गाउँपालिकाबाट विनियोजन भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।



    सो सडकखण्डको बाटो निर्माण गर्दा भ्रष्टाचार भएको उजुरी आयोगमा परेको थियो । उजुरीमाथि अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सव–इन्जिनियर विज्ञान चम्लागाँईले झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्‍न प्रतिवेदन तयार पारेको पुष्टि भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

    अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित रकमबाट गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ स्थित ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजनाको झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्‍न प्रतिवेदन तयार पारेर २२ लाख ९ हजार ८२३ रुपैयाँ हिनामिना गरेको पाइएको थियो ।

    लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवी सुव्वा ९राई० भन्‍ने शन्तमाया सुव्वा लिम्बूले सम्झौता बमोजिमको काम नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

    यस्तै, गाउँपालिकाका अध्यक्ष साहले उपभोक्ता समितिलाई गलत बदनियतले सिफारिस गरी वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिएको दाबी गर्दै आयोगको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    यस्तै, अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक रहेकी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले योजना सम्पन्‍न भइसकेको भनी उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको पाइएको आयोगले जनाएको छ ।

    यस्तै, अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बानिया, वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशको समेत मिलेमतो देखिएकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिएकाले कैद र जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार