Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • खानेपानी ट्याङ्की बनाउँदा साढे ६ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

    खानेपानी ट्याङ्की बनाउँदा साढे ६ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    खानेपानीको ट्याङ्की निर्माणमा अनियमितता गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत विनियोजन भएको रकममार्फत गाउँपालिका-२ स्थित खानेपानीको ट्याङ्की निर्माणमा अनियमितता भएको आरोपमा उनीहरू विरुद्ध विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।



    उनीहरुले खानेपानीको ट्याङ्की निर्माणमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको अख्तियारले जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले खानेपानी ट्याङ्की निर्माणमा काम नै नगरी नभए नगरेको कामलाई भए गरेको भन्दै भुक्तानीको लागि स्वीकृती दिएको भन्दै ६ लाख ४८ हजार ७८६ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

    त्यस्तै,अख्तियारले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का तत्कालिन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन भएको रकम उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी बिल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिएर हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

    अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृत शाहीले काम नै नभएको आयोजनाको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरी, फिल्डमा नभए नगरेको काम समेतको ६ लाख ४८ हजार ७८६ भुक्तानी दिएको पुष्टि भएको थियो ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) अनुसार शाहीलाई सोही बराबरको बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार