विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणको विषयमा भएको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा रहेको बताएका छन् ।
बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले प्रदेशसभाले गरेको निर्णयमा केन्द्रीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आगोमा घ्यू थप्ने काम गरेको आरोप लगाए ।
संवैधानिक प्रक्रिया पुरा गरेर सहमतिमा नाम राखिसकेपछि जिम्मेवार दलका मान्छेहरुले फरकफरक मान्छेसँग फरकफरक कुरा गरेको उनले आरोप पनि लगाए । मुख्यमन्त्री कार्कीले विगतका सरकारले बजेटको आकारभन्दा ठूला आयोजनाहरू विधि विपरीत ठेक्का प्रक्रियामा लगेको आरोप लगाउँदै निर्माण कम्पनीहरुलाई पैसा दिन नसकिएको बताए ।
पूर्व सरकारहरुले अर्थमन्त्रालयले स्वीकृति नै नदिई मन्त्रीपरिषदबाट निर्णय गराएर जथाभाबी निर्माणका काम गरिएको र आफूले त्यस्ता काम रोक्ने प्रयास गरेको उनले बताए । मुख्यमन्त्री कार्कीले बजेटको आकारभन्दा डबल बढी बहुवर्षे आयोजनाको रकम तिर्नुपर्ने अवस्था रहेको पनि बताए ।
बहुवर्षे दायित्व तिर्न नसक्ने अवस्था रहेको बताउँदै उनले विगतका सरकारले गरेको गल्तीको दोष अहिले बोक्नु परेको गुनासो पनि गरे । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका कोही पनि पार्टीहरु मध्यावधिमा जानसक्ने अवस्था नरहेको बताउँदै अर्को सरकार बन्ने अवस्था पनि नरहेको दाबी गरे ।
सरकारलाई विश्वासको मत दिनैपर्ने बताउँदै उनले सबै कुरा राम्रो गरिरहेको कारण विश्वासको मत दिन्न भन्न नपाउने उनले बताए ।
Leave a Reply