विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।
मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका हुन् ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहेका बेला आफू अल्पमतमा परेपछि मुख्यमन्त्री कार्कीले जेठ ३१ गते अधिवेशन अन्त्यको निर्णय गरेका थिए । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन् ।
अल्पमतमा परेका उनले अध्यादेश मार्फत जेठ ३२ गते प्रदेशको बजेट ल्याएका थिए । नियमित अधिवेशन आह्वान हुँदा विश्वासको मत भन्दा पहिला बजेट अध्यादेश पेश गर्नुपर्ने बाध्यात्यक अवस्था भएका कारण सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गरेको हो ।
सरकारमा सहभागी दलले सरकारबाट बाहिरिएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
Leave a Reply