काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनविरुद्ध शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइका लागि आइतबारको पेसी तोकिएको थियो ।
बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनैपनि फिल्न चल्न नदिने घोषणा गरी फिल्म हलहरुमा नगर प्रहरी खटाएका थिए ।
उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यन्वयन नगर्नु नगराउने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
मेयर बालेनले सार्वधौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने बताएका थिए । मेयर बालेनको अभिव्यक्ति संविधान विपरीत र कानूनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।
Leave a Reply