Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको दाबी - नेपाललाई हिन्दू राज्य बनाउन भाजपाले नेपाली नेतालाई पैसा दिन्छ

काठमाडौं । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपाललाई हिन्दू राज्य बनाउन भारतीय सत्ताधारी पार्टी भारतीय जनता पार्टी र उसका समर्थकले नेपाली नेताहरुलाई पैसा दिने गरेको दाबी गरेको हो ।

अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट अन्तर्गत नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन अमेरिकाले प्रकाशन गरेको छ ।

यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गर्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिवेदनमा नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्यको रूपमा स्थापित गरे पनि वास्तविकता त्यस्तो नभएको भन्ने कुरा राखिएको छ । ‘भारतको बीजेपीसम्बद्ध दक्षिणपन्थी धार्मिक समूहहरूले हिन्दू राज्यको वकालत गर्न सबै दलका प्रभावशाली राजनीतिज्ञहरूलाई पैसा उपलब्ध गराउन जारी राखेको नागरिक समाजका नेताहरूले बताए,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, सो प्रतिवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धर्मनिरपेक्षता उल्ट्याउन पनि भाजपाले दबाब दिँदै आएको उल्लेख रहेको छ। तर यता भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनले गलत र भ्रामक सूचना प्रकाशित गरेको भन्दै चर्को आलोचना गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जारी गरको विज्ञप्तिमा उल्लेख छ, ‘अफसोस् छ, यस्ता प्रतिवेदनहरु गलत सूचना र त्रुटिपूर्ण बुझाइमा आधारित भएर आइरहेका छन् । केही अमेरिकी अधिकारीहरूको उत्प्रेरित र पक्षपाती टिप्पणीले यी रिपोर्टहरूको विश्वसनीयतालाई कमजोर पार्ने काम मात्र गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077