काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।
राष्ट्रियसभाको बैठकमा सांसद रायमाझीले प्रयोग गरेको केपी शर्मा ओलीको ‘झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाइएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।
यस विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए । वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाएको थियो ।
आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को ‘घ’ को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।