काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथि एक्सन लिने सरकारी कदमको स्वागत गरेको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले सरकारी कदमको स्वागत गरेका हुन् ।
उनले सरकारको यो कदम सकारात्मक भएपनि कारबाही प्रक्रिया कसरी अघि बढ्छ भनेर हेर्न बाँकी रहेको बताए । नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकाले यो प्रकरण शंकाकै घेरामा रहेको उनको भनाइ छ ।
‘बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो । आउँछु भन्दा भन्दै हराउनुभयो’, उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू गृहमन्त्री हुँदा चार÷पाँच चरणमा कुरा भएको उनले बताए । यो प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ भने वारेन्ट जारी भएका केहीलाई पक्राउ गर्न बाँकी रहेको छ ।