काठमाडौं । सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी वैदेशिक भ्रमणमा नजान भनेको हो ।
मन्त्रालयको स्वीकृति लिएर औचित्यको आधारमा मात्र जनप्रतिनिधि विदेश भ्रमणमा जान पाउने छन् ।
जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको परिपत्रमा कार्यक्रम सम्बन्धित देशमा रहेका तर आधिकारिकता पुष्ट्याइँ हुन नसक्ने किसिमका निमन्त्रण स्वीकृतिको लागि मन्त्रालयमा निवेदन बढिरहेको मन्त्रालयले जनाएको छ ।