काठमाडौं । राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ ।
बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।
प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ ।
प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गर्दै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन् ।
मुलुक आर्थिक रूपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनका लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उनको भनाइ छ ।