Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानुनविपरित जग्गा कित्ताकाट, प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जन, मालपोत कार्यालय,चाबहिलका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्लेसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुले सरकारी कागजात सच्याई कागेश्वरी मनहरा नगरपालिका,साविक गोठाटार र साविक मुलपानीको स्मार्ट सिटीअन्तगर्तको जग्गामा कानुनविपरित कित्ता काट गरेको अख्तियारले जनाएको छ ।

साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ख,का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी,नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने कार्य भएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

नापी कार्यालय,चाबहिल,काठमाडौंका तत्कालीन प्रमुख महर्जन,नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले जिल्ला काठमाडौं,साविक मुलपानी १ख कित्ता नम्बर ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेको पाइएको अख्तियारले जनाएको छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको कैद र जरिवानाको माग दावी गरेको छ।

त्यस्तै मालपोत कार्यालय चाबहिल,काठमाडौंका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालय चाबहिलबाट जिल्ला काठमाडौ,साविक मुलपानी १ख कित्ता नम्बर ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरेको पाइएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कैद र जरिवानाको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077