Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लामिछानेको राहदानी प्रकरण : उन्मुक्ति दिएको भन्दै युवराज सफल सर्वोच्च जाने

काठमाडौं । युवराज पौडेल (सफल) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सन्दर्भमा लामिछानेलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’, उनले भनेका छन्।

लामिछानेलाई जोगाउन जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरूले अख्तियार दुरुपयोग गरेको उनको आरोप छ । यो मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उजुरी दिएको पनि सफलले बताएका छन्।

‘यस प्रकरणमा जोडिएका जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरुले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै हिजोकै मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरिसकिएको पनि यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ। सत्ता जोगाउनकै लागि

'सरकारवादी मुद्धाबाट सफाई दिने भनी महान्यायधिवक्तको कार्यालयले निर्णय गरेकोले सो निर्णयको विरुद्ध यथाशिघ्र सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गरी कानुनी उपचार खोज्ने साथै आरोपितलाई सफाई दिने निर्णयमा संलग्न सबै निकायका जिम्मेवार व्यक्तिहरुलाई हदैसम्मको कारबाही समेत गराउन प्रतिबद्ध रहने पनि यसै प्रेस विज्ञप्तिमार्फत अवगत गराउँदछु,' उनले भनेका छन् ।

सोमबार महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका आधारमा महान्यायाधिबक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् । महान्यायाधिवक्ताले सो निर्णय गरेसँगै अब लामिछानेले सफाइ पाएका छन् । अब उनीविरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन ।

सफाइ पाएसँगै लामिछानेलाई चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाखमा हुन लागेको उपनिर्वाचनमा चुनाव लड्ने बाटो खुलेको छ । राहदानी दुरुपयोगको विषयमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो । लामिछानेको नेपाली र अमेरिकी राहदानी रहेको तथा उनले एकैपटक दुईवटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो । अमेरिकी राहदानी नबुझाई नेपाली प्रयोग गरेको पाइएपछि उनी विवादमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077